यदि कुनै ज्ञानी व्यक्तिलाई कसैले उसको पूर्वजले पाएको सम्मानभन्दा बढी दिन खोज्छ भने उसले बुझ्छ कि ‘दालमे कुछ काला है’ । तर, प्रकाण्ड विद्वान् सम्मानार्थ पीएचडी डिग्री प्राप्त डा. केपी शर्मा ओलीले दिल्लीको जाडोमा ‘खेसरी’को दाललाई जिम्बुले झानेको कालो दाल सम्झेर खुब मीठो मानी खाए । अहिलेसम्म नेपालको सायदै कोही प्रधानमन्त्री होला जसले राष्ट्रपति निवासमा वास पाएको होस्, जो ओलीले पाए र आफ्नो सान–शौकत सम्झे । उनले सोच्न सकेनन् कि दाल त पूरै कालो छ भनेर । उनले सोचे– मैले मोदीको विशेष दूतलाई गरेको अपमान मोदीले सबै बिर्सेछन् । उनले सम्झे संविधानमा भएको सबै विभेदकारी व्यवस्थालाई मोदीले स्वीकार गरिसकेकाले मलाई राष्ट्रपति भवनमा आतिथ्य दिएर सम्मान गरे । तर, यहाँनेर पनि मोदीले ओलीलाई मूर्खहरूको सरदार बनाइदिए । उनले भेटघाटपछि प्रस्ट शब्दमा भनिदिए तिमीले बनाएको संविधानलाई स्वागत गरेका छैनौँ र तिम्रो संविधानको सफलता संवाद र समावेशिताबाट मात्र सम्भव छ र तिम्रो देशको समृद्धि समावेशिताबाट मात्र हुन सक्छ । मेरो मान्यता यही हो र तिमले यसलाई अनुशरण गरेमा मात्र समझदारी पुनर्जीवित हुनेछ । तर, ओलीले यसलाई बडो अनर्थ भावले अथ्र्याए र लाज पचाएरै भने हाम्रो असमझदारी ४० मिनेटको संसर्गबाट हट्यो । हामी दुवै मिल्यौँ, अब डिभोर्सको सम्भावना टर्यो । ओलीले यसरी आफ्नो धोती खुस्केको थाहै पाएनन् र संसर्गबाट पाएको आनन्दमै भुलिरहे ।
अपमानलाई सम्मान सम्झेर रमाइरहेका ओलीले भनिरहेका थिए कि म सपिङ लिस्ट लिएर आएको छैन भनेर तर सपिङ लामै गरे । सपिङ गर्न त गरे, तर सबै ‘हरेक माल’को खरिदारी मात्र भयो, न्यू एराइभल एउटा पनि किन्न पाएनन् । नौवटा सम्झौता भएको भए पनि भारत सरकारको विदेश मन्त्रालयको वेबसाइटमा सातवटाको मात्र उल्लेख भएको छ । अब, सम्पूर्ण स्वाभिमानी राष्ट्रवादी नेपालीले प्रश्न सोध्नुपर्छ कि बाँकी दुईवटा सम्झौता के–के थिए र ती किन सार्वजनिक गरिएन ? कतै आफ्नो कुर्सी टिकाउनका लागि राष्ट्रियता खतरामा पर्ने सम्झौता त गरेको छैन ? सम्पूर्ण राष्ट्रभक्त नेपालीले शङ्का गर्नुपर्ने बेला भएको छ ।
जति पनि सातवटा सम्झौता भएको भनी बाहिर आएको छ । त्यसमा एक–दुई महत्त्वहीन सम्झौताबाहेक सबै पहिले नै भइसकेको सम्झौता हुन् । जसको कार्यान्वयन कुनै न कुनै तरिकाले भई नै रहेको थियो । दुई सय ५० मिलियन अमेरिकन डलर दिने भनेको नयाँ सम्झौता होइन । यो मोदी पहिलोपटक नेपाल जाँदा दिएको सहयोग र सुष्मा स्वराजले दाता सम्मेलनमा दिएको सहयोगराशि हो । यो सम्झौता गरिरहनुको कुनै औचित्य थिएन । यसमा कसरी कुन क्षेत्रमा खर्च गर्ने भनेर सम्झौता गरिएको भन्ने छ जुन औचित्यहीन कुरा हो । अर्को सम्झौता हुलाकी राजमार्ग बनाउने हो । यो विषय धेरै सुनिरहने भएकाले यहाँ तर्क गरिरहनुपर्दैन कि नयाँ परियोजना होइन भनेर । त्यस्तै, विद्युत् प्रसारण लाइन त्यो पनि पुरानो परियोजना नै हो । जसमा तीनवटामध्ये एकको उद्घाटनसमेत गरेका थिए मोदी–ओलीले । त्यस्तै गरी विशाकापटनम बन्दरगाह सम्झौता, त्यसबारे यो पङ्क्तिकारले भनिरहनुपर्दैन कि यो आकाशको फल हो भनेर । किनभने यस सम्बन्धमा धेरै समाचार छापिइसकिएको छ नेपाली पत्रपत्रिकाहरूमा । त्यस्तै दुवै देशबाट चार–चारजनाको प्रख्यात व्यक्तिहरूको समूह बनाउने सम्झौता भएको छ त्यो पनि सन् २०१४ मै निर्णय भइसकेको विषय हो । यसरी हेर्ने हो भने ओलीलाई मोदीले केही पनि नयाँ दिएका छैनन् । सबै कुनै न कुनै बेला भइसकेको निर्णय हुन् । यसबाट पनि ओलीले आफ्नो भ्रमणको औचित्य पुष्टि कसरी गर्ने भनी सोच्नुपर्छ । यसलाई यसरी बुझ्नुपर्ने हुन्छ, बोलाउन मन नहुँदा नहुँदै बोलाएको पाहुनाको हालत यस्तै हुन्छ । खुवाउन त मोदीले ओलीलाई बासी भात नै खुवाए, तर पाहुनाले थाहा पाए पनि मीठो मानी खाओस् भनेर रामदेव बाबाको पतञ्जली शुद्ध घ्यूमा फ्राइड राइस बनाएर खुवाए । पहिले दिइसकेको परियोजनालाई चिल्लोचाप्लो घसेर दिए । जहाँ गए पनि एकातिर स्वागत गरे भने अर्कोतिर कालो झन्डा देखाउन लगाइदिए । तेहरी बाँध निरीक्षण गर्न देहरादुन जाँदा त्यहीँ कालो झन्डा देखाउन लगाइदिए । सोमबार नेपाली राजदूतावासको सय मिटर पर भारतीय विश्व मामिला परिषद्मा सम्बोधन गर्न बोलाउँदा छेउमै रहेको नेपाली राजदूतावासमा भारतीय नेता तथा कार्यकर्ताबाट मधेसको समर्थनमा नाराजुलुस गर्न लगाइदिए । ओलीले आफ्नो कुर्सीको आयु बढाउन नेपालीको भावनासँग समेत खेलवाड गरे । उनले दाबी गरे कि चार महिनाभन्दा बढी तथाकथित नाकाबन्दीले त्राहीमाम भएको नेपालीले अब बिर्सिसके । मोदी र इण्डिया नेपालीको मनमा फेरि बसिसके । नेपालीको हृदयमा मोदीप्रति त्यही सम्मान पलाइसक्यो जुन मोदी पहिलोचोटि नेपाल जाँदा पाएका थिए । अब फेरि नेपालमा ‘हरहर मोदी घर–घर मोदी’को नारा लाग्ने छ भनी चिप्लो घसे । यस पङ्क्तिकारलाई नेपाली जनतासँग सोध्न मन लाग्यो– के ओलीले दाबी गरेजस्तै साँच्चै नेपाली जनतामा मोदीप्रति सम्मानको भावना जागिसकेकै हो त ? नेपाली जनतालाई मोदीप्रति माया–प्रेम पलाएको पक्कै हो त ? कि ओलीले आफ्नो सत्ता लम्ब्याउने मोदीसँग झुटो बोलेको हो ? समग्रमा ओलीको भ्रमणको विश्लेषण गर्ने हो भने के स्पष्ट हुन्छ भने मोदीले ओलीलाई फकाउ र फसाउको नीति अवलम्बन गरेका थिए, तर ओलीले यसलाई गुमेको प्रेममा पुनर्मिलन भएको अथ्र्याउन पुगे । मोदीले बोलाएर ढोकामा रातो रङले स्वागत गर्नुको सट्टा कालो रङ देखाइदिए । नयाँ कुनै सम्झौता गर्नुको सट्टा पुरानैलाई रङरोगन गरेर टारिदिए । मधेसी समुदायको सट्टामा भारतीयलाई नै नेपाली राजदूतावास घेर्न लगाए । यी सब घटनाक्रमलाई हेर्ने हो भने मोदीले के सन्देश दिन खोजेको हो भने हेर मेरो स्टेन्ड अझ त्यही हो जुन संविधान बनाउने क्रममा थियो । तिमीलाई बोलाएर सम्मान गरेर सम्झाउँदै छु, यतिबाट पनि बुझेनौ भने भारतीय जनता त अहिले तिम्रो राजदूतावास घेर्दै छन्, पछि के–के घेर्छन् आफैँ बुझ । यसरी ओली मोदीजीको मोहनीमा परेर केही दिन सम्मोहित बने पनि यथार्थमा चाहिँ ‘उल्लू’ बनेका पक्कै हुन् ।
घटना र विचार बाट साभार गरिएको
3:56PM
0 Response to "इण्डियाले ओलीलाई यसरी बनायो ‘उल्लू’ READ MORE NEWS"
Post a Comment