पेशल आचार्य
यति गहिरो गरेर देश र राष्ट्रियता कहिल्यै पनि नेपालीलाई दुखेको थिएन । भारतले विगत्का दिनमा यति बिघ्न कहिल्यै बिरालाले मुसोझैँ खेलाएको र सताएको पनि थिएन । यति निम्न स्तरमा उत्रिएर नेपाली जनताको अशिक्षा, गरिबी, बेरोजगारी र असक्षमतामाथि राजनीतिको भद्दा व्यापार गरेका राजनीतिक पार्टीहरू भनाउँदाले नेपालीसँग खेल्न हुने र नहुने खेलहरू कहिल्यै खेलेका थिएनन् । कसैले संसदभित्र र कसैले बाहिर खेल्नु खेलेका छन् ।
अहिले त्यो सबै भएको छ । भारतीय राजदूतले नेपालमा नेपाली प्रमुख भनाउँदा राजनीतिक दललाई आफ्नो कार्यालय लैनचौर बोलाएर सम्झाएको, छिमेकी र संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भनेर चिनिएको भारतले संसारकै अब्बल (पेपर टाइगर उपनामले समेत कुख्यात !?) देश भनेर प्रचार गरिएको देशले ९० प्रतिशतभन्दा बढी मतद्वारा पारित र समावेशी लोकतान्त्रिक संविधानलाई खुल्लमखुल्ला मान्दिनँ भनेर दिएको हाँक हेर्दा नेपाल घुमाउरो पाराले भारतकै अर्को उपनिवेश (!) देश जस्तो लाग्न थालेको छ । हुन त यसमा सबैको एक मत नहुन सक्छ ।
राष्ट्रवादी राजा वीरेन्द्रले आफ्नो कार्यकालमा राखेको शान्ति क्षेत्रको प्रस्तावलाई संसारका करिब १ सय १६ देशले लिखित स्वीकृति जनाउँदा पनि भारत नै त्यस्तो जब्बर देश हो जसले कहिल्यै शान्ति क्षेत्रको प्रस्तावलाई समर्थन गरेन अनि नेपालको एसियामै शान्ति क्षेत्र हुने देशको सपना साकार भएन । हुन दिएन । यो कस्तो विडम्बना ?
गएको दसदिन यता नेपालको आर्थिक, सामाजिक अवस्था र नेपाली राजनीतिको दुर्दान्त चित्रण गर्ने सामाजिक सञ्जाल, फेसबुक, ई–पेपर, छापा तथा विद्युतीय सञ्चार माध्यमका खबरलाई गम्भीर र खम्बीर विश्लेषण गर्ने हो भने निम्न बुँदाहरूमा जो कोही लाटासिधा नेपालीहरूले पनि कुरा बुझेका छन् । ती कुराहरूलाई यहाँ जस्ताको तस्तै राख्ने धृष्टता गरिएको छ । सिनेमाका पर्दाहरूमा लेखेर देखाइने ‘यस प्रस्तुतिका घटना, परिवेश पात्रहरू काल्पनिक हुन् । संयोगले कसैको जीवनसँग मेल खान गएमा त्यो संयोगमात्र हुनेछ’ भन्ने लेखिएको हुन्छ तर यहाँ यो लेखक त्यसो भन्ने मनसायमा छैन । बरू सगौरव यसो भन्न चाहन्छ –
‘यी घटना र पात्रहरू साँचा हुन् । कहीँ कसैसँग मिल्न गएमा त्यो बास्तविकता हुनेछ ।’
– नेपालमा कि त पढेलेखेका डाक्टर र कि त पारिवारिक विरासतबाट आएका एवम् समय नचिन्ने तथा कसैको भरिया भएका निरक्षर ट्रयाक्ट्र नेताहरू छन् । पढे लेखेका नेताहरू जतिखेर जे पनि अभिनय गर्न सक्षम छन् । एमाओवादी छोडेका डा. बाबुराम भट्टराईको अभिव्यक्तिले त्यो कुराको छनक गरेको छ । करिब १६ हजार निर्दोश मानिसहरु किन र केका लागि मारिए त्यसको सार्थक दृष्टान्त र पुष्टि अब कसैले पनि गर्नु नपर्ने भएको छ । राजनीतिको अदृश्य मालिकले ‘उनलाई लाए अह्राएको काम सकियो सायद् त्यसैले उनले राजीनामा दिएर मधेशको पानी छाम्ने प्रयोग थालेका छन् ।’ समयले उनको परीक्षा लिँदैछ । हेरौं त्यो परीक्षामा उनी प्रथम भए त बसै भयो । कदाचित फेल भएभने उनको राजनीतिक भविष्य नै डाँवाडोल हुनेछ भन्ने कुरा अहिले नेपालीले बिस्तारै थाहा पाउन थालेका छन् ।
– चुनाव हारेका र ‘भेडाको छाला ओडेका ब्वाँसाहरू’ जस्ता जातीय राजनीतिको खोल ओढेर तराईका सीमान्तकृत, अशिक्षित, छेउ पारिएका, बेरोजगार, निमुखा र गरिब नेपाली जनताको रगतमा होली खेल्न पल्केका तराईवादी नेता हौं भन्नेहरूको सामाजिक, राजनीतिक र दार्शनिक चुरो सकिएकाले हिँसाको राजनीति गरेको नेपाली जनताले अब भलिभाँती थाहा पाएका छन् ।
– नेपाली काँगे्रसका नेता र समाजवादी व्याख्याताका रुपमा चिनिएका भनिने प्रदीप गिरीजस्ता नेताको संविधान घोषणा हुँदाका बेलामा संसदमा भएको रहस्यमय अनुपस्थिति खोजमूलक पत्रकारका लागि गतिलो स्कुप हुन सक्छ भन्ने कुरा सचेत नेपालीले बल्ल थाहा पाएका छन् ।
– देशद्रोहका बारेमा बोल्दा पनि सरकार र अदालतले केही नगर्ने डा. सिके राउत र आफ्नो छोराको हत्याको न्यायिक छानविनका लागि आमरण अनसनमा बसेका गोर्खा फुजेलका नन्दप्रसाद अधिकारीको असामयिक मृत्युवरणमा नेपाली मानवाधिकार संघठनहरूको चुपचाप शैली र निरीह अवस्थाको रबैया बारे नेपाली जनताले सबै गाँठीकुरा थाहा पाइ सकेका छन् ।
– नेपालमा स्वस्थ रुपले न्यायोचित रुपमा मेडिकल शिक्षा हुनु पर्छ र गरिब नेपालीका छोराछोरीहरूले पनि सुलभ र सस्तो शुल्कमा मेडिकल शिक्षा लिन पाउनु पर्छ भनेर सातौं चोटी आमरण अनसनमा बसेका आदर्श डा. गोविन्द केसीको समर्थनमा सारा नेपाल एक भइसक्दा पनि काँग्रेस, एमाले र एमाओवादी पार्टीहरूले उनको कुरा नसुनेको देख्दा जनताले के पत्तो पाइसके भने तीन वटा पार्टीहरूले नेपालमा विभिन्न सहरमा मेडिकल कलेज खोलेर स्वास्थ्यको खुलेयाम व्यापार गरेका छन् । अनि डा. केसीको जायज माग फिटिक्क सुन्नै चाँहदैनन् भनेर कुना काप्चाका बच्चाबच्चा नेपालीले अब भने थाहा पाइसकेका छन् ।
– भारतसँगको खटपट यो नै पहिलो र अन्तिम होइन । यसअघि २७ वर्ष पहिले २०४५ सालमा राष्ट्रवादी व्यक्तित्व मरिचमान सिँह श्रेष्ठ प्रधानमन्त्री भएका बेलामा पनि आर्थिक नाकाबन्दी भएकै हो । त्यो बेला मरिचमान भारतसँग झुक्न चाहेनन् बरू चीनबाट तेल ल्याएर नेपालीलाई राहत दिएका थिए । अहिलेका त्यागी र ऋषिजस्ता भनिएका प्रधानमन्त्री सुशील कोइरालाको शान्त र निरीहपन ज्यादै टिठलाग्दो किसिमको छ । के त्यसभित्रको अन्तर्य राष्ट्रपति हुने चालाबाजी त होइन ? भनेर करिब ३ करोड नेपालीले थाहा पाइसकेका छन् ।
– अहिलेको मधेश आन्दोलनमा दृश्य रुपले लागेका भनिएका तराईवादी नेताहरू उपेन्द्र यादब (एक स्थानबाट जिते पनि अर्को स्थानबाट हारेका), राजेन्द्र महतो, हृदयेश त्रिपाठी र महन्थ ठाकुरहरू दोस्रो संविधान सभाको चुनावमा सर्मनाक हार व्यहोरेका मानिसहरू हुन् भनेर समाचार र अखबार पढ्ने या सुन्ने जनता मात्र होइन सबै नेपालीलाई थाहा भइसकेको अवस्था छ ।
– नेपालमा पपुलर राजनीति गर्ने भनेर चिनिएका नेमकिपाका नेता नारायणमान बिजुक्छे, संयुक्त जन मोर्चाका चित्रबहादुर केसी र राप्रपा नेपालका कमल थापाजस्ता नेताका पछाडि जनता ‘असाध्यै कम’ हुनु अनि जसका पछि जनता छन् तिनीहरूको बोली र लोली सामयिक नहुनुले नेपालमा फेरि पनि अर्को नयाँ किसिमको द्वन्द्व नहोला भनेर भन्न सकिने स्थिति नभएको भन्ने राजनीति घटनालाई अध्ययन गर्नेहरूले थाहा पाइसकेका छन् ।
– मधेसीहरूले प्रदेश मागेको भए राज्यले संविधान मै वा संविधानमा संशोधन गरेर उनीहरूको माग पूरा गरिसक्ने थियो तर भारतको अदृश्य र अभद्र सहयोगबाट उनीहरूले ‘अलग देश’ नै मागेका हुन् । अंगीकृत नागरिकता लिने मानिसले देशको प्रमुख पदहरूमा चुनाव लड्न पाउनु पर्छ भन्ने माग घुमाइफिराई नेपाललाई भोटको राजनीति गर्दै ‘फिजी’ जस्तै बनाउनु हो भन्ने गुह्य कुरा सबै चेतनशील नेपालीले थाहा पाइसकेका छन् ।
– एमाओवादीका नेता पुष्पकमल दाहालले ‘भारतसँग झुकिन्न बरू साइकल चढिन्छ’ भनेर सञ्चार माध्यममा डिङ हाँके तर उनले भनेको मान्ने देश चीनलाई मनाएर या भनाएर एक करोड जति बिजुलीले चल्ने साइकल, मोटर साइकल र कारजस्ता सवारीका वस्तु आयात गरे भारतको दीर्घकालीन मेख मर्ने थियो । भारत अहिले मात्र होइन पछि पनि यस्तै चेपुवामा परेका बेला आफ्नो ‘सार्क स्तरीय भैयागिरी’ र ‘फोहोरी कूटनीति’ को शालीन दादागिरी देखाइरहन्छ भन्ने कुरा नेपालीले राम्ररी नै थाहा पाइसकेका छन् ।
– नेपालमा जुन नामको शासन आओस् तर शासनमा रहेका सबैखाले सुकिला र मुकिला नेपालीहरूको मेन्टालिटी भने अझै पनि ‘राणाकालीन अवस्था’ कै रहको छ । कर्मचारीहरू सेवकका बिल्ला भिरे पनि सामन्ती शासक कै अभिनयमा रमे रमाएका र तमाम राजनीतिक पार्टी, जनवर्गीय संघठन, पेशागत संघठन, एनजिओ र आइएनजिओजस्ता संस्थामा पनि अझै व्यवहारमा ‘भद्र लोकतन्त्र’ भित्री नसकेको देखिएकाले अझै दूरदराजमा रहेका गरिबका लागि भन्दिने कोही नभएका छेउ लागेका, शक्तिहीन, निमुखा, गरिब, महिला र दलित जातिका लागि नेपालमा कहिल्यै लोकतन्त्र नआउने कुरा पढेलेखेका र बेरोजगार नेपाली युवाले भोगिरहेका छन् । यो कुरा नेपाली राजनीतिका सबै पार्टीका नेता भनाउँदाले अझै व्यवहारिक हिसाबले नबुझेको तर विदेशमा काम र मामका लागि गएका सचेत एवम् सीपयुक्त युवा नेपालीले भने भलिभाँती बुझिसकेको कुरा नेपालमै रहेका सचेत नेपाली जनताले थाहा पाइसकेका छन् ।
त्यसैले यी सबै कुराको दसीका रूपमा देखियो यो दस दिनमा भएका घटनाहरूको फेहरिस्त । अखबार, विद्युतीय मिडिया, सामाजिक सञ्जाल र ई–पेपरमा व्यक्त भएका सबै विश्लेषण र राष्ट्रवादी विचारहरूलाई संश्लेषण गर्दा अब नेपाल र नेपालीहरू पनि निकै चेतनशील र अग्रगामी सोच राख्ने भएका रहेछन् भन्ने कुरा स्पष्ट भएको छ ।
यस्तो अवस्थालाई कसरी २१ औं शताब्दीको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने ? उत्तरको अपेक्षासहित सम्पन्न नेपालको कामना गरिएको छ ।
।।समाप्त।। 3:56PM
0 Response to " INDIA KO KUTNITI RAJNITI READ MORE NEWS"
Post a Comment